सुन्तला खेतीले समृद्ध दोसल्ले

रिपोर्ट नेपाल | 2022 Jun 24 | 08:40 am 1581

म्याग्दी, असार १०ः जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला बिक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् । परम्परागत  खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन ।

हिजोआज दोसल्लेका ५० घरपरिवार सबैले सुन्तला खेती लगाएका छन् । सुन्तला बिक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका स्थानीयको जिवनस्तरमा सुधार आएको छ । पहिला दुईचार घरले मात्र सुन्तला लगाएका थिए, स्थानीय किसान कृष्ण पुनले भने ‘एकदशक यता सबै घरपरिवारले सुन्तला खेती गर्न थालेका छन् ।’ खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालेको उाले बताए ।

अहिले सुन्तला नलगाएको घर नै छैन मकै,धान र कोदो खेती गाउँबाट हरायो पुनले भने ‘सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको संख्या वृद्धि भएको छ ।’ गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उनको भनाई छ ।

१२ वर्ष देखि यहाँका किसानले सुन्तला खेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखोबारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले बताए । भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रो सँग फस्ट्याउने उनको भनाई छ ।

उनका अनुसार यसवर्ष सुन्तला बिक्रीबाट गाउँमा ५० लाख रुपियाँ भन्दा बढी रकम गाउँमा भित्रिएको छ । पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो  ८० देखि एकसय २० रुपियाँका दरले सुन्तला खरिद गरेर लगेको पाइजाले बताए ।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताए । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट  पचास हजार भन्दा बढी आम्दानी भएको उनले बताए । सडक यातायातको सुविधा भएपछि बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान गाउँलेले चलाएका छन् ।

दश वर्षअघि स्थानीयवासी मिलन गर्बुजाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो । कृषि ज्ञानकेन्द्र म्याग्दीले दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी  तालिममा सहयोग गर्दै आएको छ ।  बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डारण गर्ने भवनसमेत निर्माण भएको थियो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.