सुनामीमा ज्यान गुमाएकालाई राष्ट्रपतिको बधाई

रिपोर्ट नेपाल | 2018 Dec 26 | 08:29 pm 2411

काठमाडौं, पुस ११  : नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दा गम्भीर लापरबाही गरेको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै इन्डोनेसियमा ज्वालामुखीपछि आएको सुनामीले भएको धनजनको क्षतिप्रति समवेदना व्यक्त गर्नु पर्नेमा बधाई दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको नामबाट परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, शनिबार इन्डोनेसियाको बनटेन र लामपुङ क्षेत्रमा आएको सुनामीले धेरै मानवीय क्षति भएकोमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियमा सम्माननीय राष्ट्रपति जोको विडोडोप्रति बधाई दिएका छन् ।

त्यस्तो गल्तीप्रति सामाजिक सञ्‍जालमा तत्काल व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले गल्ती सच्याएको छ। सच्याउने क्रममा पनि माफीसमेत मागेको छ। गल्ती सच्चयाएको विषयमा जानकारी गराउँदासमेत गल्ती गरेको छ। करेक्टेड (सच्याइएको) लेख्नुपर्नेमा किरिक्टेड लेखेको छ।

इन्डोनेसियमा ज्वालमुखी पछि आएको सुनामीमा परेर चार सय तीस जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन्। परराष्ट्र मन्त्रालयजस्तो संवेदनशील निकायबाट बारम्बार गल्ती हुनु निकै दुर्भाग्य हो। व्यापक जनशक्ति हुँदाहुँदै पनि यस्तो संवेदनशील विषयमा गम्भीर गल्ती हुनु चरम लापरबाही भएको भन्दै व्यापक आलोचना भइरहेको छ।

यसअघि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिमासमेत गम्भीर गल्ती गरेको थियो। त्यसमा साल नै फरक परेपछि राष्ट्रपति कार्यालयले माफि माग्दै गल्ती सच्याएको थियो। मुलुककै सर्वोच्च निकायबाट पटक–पटक गल्ती हुँदा पनि चेत नखुल्नु भनेको लापरबाहीको पराकष्टा तथा गैरजिम्मेवारपन हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.