सुनसरीमा २४ वर्षीय युवती बलात्‍कृत

रिपोर्ट नेपाल | 2018 Aug 27 | 08:16 am 2122

इनरुवा, भदौ ११: सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक युवती बलात्कृत भएकी छिन् ।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीय ती युवतीको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरेका हुन्।

मानसिक सन्तुलन ठीक नभएकी युवती अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । युवतीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए। नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् ।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.