सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु

| 2018 Dec 10 | 11:14 am 2044

सुनसरी, मंसिर २४ : सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार/पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

मृतकको सनाखत हुन सकेको छैन। चार/पाँच जनाको समूहमा रहेको शङ्कास्पद व्यक्तिलाई प्रहरी टोलीले रोक्न खोज्दा उनीहरूले प्रहरीलाई लक्षित गरी एक्कासी गोली फायर गरेपछि आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा सो समूहका एक व्यक्तिको मृत्यु भएको हो। नाम थर र ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीय एक पुरुष व्यक्तिको गोली लागेर घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयाँलले बताए।

अन्य व्यक्ति भारततर्फ फरार भएको प्रहरीले जनाएको छ। घटनास्थलमा तत्काल खोजतलास गर्दा गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको छ भने मृतकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.