सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित

रिपोर्ट नेपाल | 2019 Jan 21 | 03:36 pm 1692

सुनसरी, माघ ७  : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाल प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले फुयाललाई पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा दरवन्दी भई कार्यरत रहेका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाललाई कार्यदक्षता र मूल्याङकनका आधारमा महिनाको सर्वोत्कृष्ट प्रहरी छनौट निर्देशिका अनुसार उत्कृष्ठ ठहर गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रदेश भर रहेका मातहतका कार्यालयमा कार्यरत विभिन्न तह र तप्काका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ठ कार्यसम्पादन, कार्यदक्षता र प्रहरी संगठनप्रति कर्तब्य निष्ठावान जस्ता मूल्याङकनका सूचकहरुमा उत्कृष्ठ ठहरिएका प्रहरीलाई हरेक महिनाको सर्वोत्कृष्ट घोषित गरी पुरस्कृत गर्दै आएको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगरले विभागीय मूल्य मान्यता, निर्देशनको पालना, व्यवसायिक लगनशिलता र कर्तव्यनिष्ठ तवरले कर्तब्य पथमा तल्लीन रही विभागीय जिम्मेबारी बहन गरेको भनि फुयाललाई सम्बोधन गरेको छ ।

विशेष गरी दक्षिणी सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण, फरार रहेका अभियुक्त पक्राउ गर्न सफल हुनुका साथै विभिन्न जघन्य प्रकृतिका अपराधको सफल अनुसन्धान गर्नमा सक्षम र सफल देखिएकाले प्रहरी नायव उपरीक्षक फुयाललाई पुष महिनाको सर्वोत्कृष्ठ प्रहरी घोषणा गरिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.