सुदूरपहाडमा दैनिक हवाई उडान, नागरिकमा छायो खुशीयाली

रिपोर्ट नेपाल | 2021 Oct 27 | 08:02 am 2461

डोटी, कात्तिक १०ः नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक रूपमा हवाई सेवा शुरू गरेपछि त्यहाँका नागरिकलाई निकै सहज भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा हालै गएको बाढी पहिराले विभिन्न जिल्लामा आवागमन समेत बिच्छेद भएकाले जहाज चलाएर नागरिकलाई सेवाप्रदान गर्न निर्देशन दिएसँगै अहिले त्यहाँ नियमित रूपमा जहाज सञ्चालन भइरहेको छ । नियमित रूपमा जहाज सञ्चालन भएपछि अहिले त्यहाँका पहाडी जिल्ला बाजुरा, अछाम, बझाङबाट कैलाली आउन र कैलालीबाट पहाड जानका लागि निकै सहज भएको स्थानीय धनन्जय जोशीले जानकारी दिए ।

यति मात्र नभई अन्य निजी क्षेत्रका जहाजभन्दा नेपाल वायुसेवा निगमले आफ्नो भाडामा केही सुलिएत दिएको छ । धनगढीदेखि डोटी दुई हजार ६ सय १५ र डोटीबाट धनगढी दुई हजार ५ सय १५ भाडादर कायम गरिएको छ । यसै गरी धनगढीदेखि बझाङ तीनहजार ९ सय ९५ र बझाङदेखि धनगढी तीन हजार ८ सय ९५ हवाई भाडादर कायम गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक सञ्जाल अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाई सेवा शुरू गरिएको र अब यो नियमित रहने मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

पहाडी जिल्लामा हवाई सेवा शुरू भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाई भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीबाट पहाडी जिल्लामा निगमले हवाई उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो । केही दिनअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले सुदूरपश्चिमका पहाडी क्षेत्रमा तत्काल नियमित हवाईजहाज सञ्चालन गर्न निर्देशन दिएका थिए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.