बैतडी, १९ कात्तिक : सुदुर पश्चिम प्रदेशका केही पहाडी जिल्लाका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको छ । बैतडीको डिलाशैनी गाउँपालिकाका केही वडाका पशु यो रोगबाट प्रभावित भएका छन् ।
डलाशैनी गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक धर्मानन्द जोशीका अनुसार वडा नं ३ को पङसेरा, गिरीबगड, बमरोडा र वडा नं ५ को दौंतलामा पशुमा खोरेत रोग देखा परेको छ । ती ठाउँमा करीब १५० गाईभँैसी तथा बाख्रामा खोरेत रोग देखा परेपछि किसानहरु चिन्तित बनेका छन् ।
खोरेत रोगले महामारीको रुप लिएपछि अन्य ठाउँमा सर्न नपाओस् भन्नका लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको सहयोगमा भ्याक्सिनेसन शुरु गरिएको छ । खोरेत रोग अन्य गाउँपालिकामा पनि सर्ने अनुमान गर्दै उच्च सतर्कता अपनाइएको छ । गाउँपालिकाका विभिन्न वडामा खोरेत रोगको प्रकोप देखिएपछि रिङ भ्याक्सिनेसनको काम शुरु गरिएको जोशीले वताए । खोरेत रोगबाट पशु प्रभावित भएपछि किसान चिन्तित बनेका छन् ।
भाइरसका कारण पशुमा देखिने यो रोगले पशुको खुट्टा पाक्नेलगायतका लक्षण देखा पर्ने गरेका छन् । खोरेत रोग लागेको पशुलाई निरोगी पशुको संसर्गबाट टाढा राख्नुपर्ने अन्यथा रोग बढी फैलिने खतरा हुने प्राविधिकले बताएका छन् ।