काठमाडौं, कात्तिक २७ : सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाका ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।
तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो ।
मन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले मन्त्रीलाई पदमुक्त गरिएको पुष्टि गरे । मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्रोतले जनाएको छ ।
मन्त्री सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रबार राति कैलालीमा दुर्घटना भएको थियो । दुर्घटनामा ३ जना घाइते भएका थिए ।
यसअघि प्रदेश इन्चार्ज रावलले मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल गरेका थिए । सोडारीको बारेमा धेरै गुनासा आएकाले उनलाई हटाइएको स्रोतले जनाएको छ ।
प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।