बैतडी, कात्तिक २४ः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमको विकासका लागि सुदूरपश्चिकै ठूला आयोजना प्राथमिकतामा रहेको बताए ।
पश्चिम सेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमुना शहर काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने बताए । उनले भने– ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छोड्छु, । पश्चिम सेती भारतीय कम्पनीसँग सम्झौता गरेर भएर अघि बढ्न गइरहेको छ । पश्चिम सेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’
यसका साथै उनले पञ्चेश्वर आयोजना अघि बढाउन पहल गरिने, महध्यपहाडी लोकमार्ग निर्माण सम्पन्न, पाटन नमुना शहर निर्माण सम्पन्न, पत्ताल भुवनेश्वर धामको विकासको काम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले देशको आवश्यकताको आधारमा गठबन्धन भएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । एक अर्को प्रसंगमा उनले अहिलेको नेपालमा संघीयता रहने कि नरहने भन्ने चिन्ता बढेकाले संघीयता आवश्यक रहेकोमा जोड दिए । नेपाल समाचारपत्रबाट