सुत्केरी भैँसीलाई भत्ता

रिपोर्ट नेपाल | 2022 Sep 11 | 07:30 am 3013

रुकुम पूर्व, भदौ २६ः सिस्ने गाउँपालिकाले कृषकलाई प्रोत्साहन स्वरूप ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको छ । पछिल्लो समयमा भैँसी पालन कृषक कम हुँदै गए पछि त्यसलाई प्रवर्द्धन गर्नका लागि सिस्ने गाउँपालिकाले यस वर्ष देखि जिल्लामै पहिलो पटक ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको हो ।

सुत्केरी भैँसीलाई पौष्टिक दानापानी खुवाएर राम्रोसँग स्याहारसुसार गर्न सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले भैंसी धनीलाई भत्ता दिन थालेको हो । गाउँपालिकाका किसानले प्रति भैँसी सुत्केरी भत्ता बापत दुई हजार पाँच सय रुपैयाँ पाउने गरेका छन् ।  “अहिले सम्म २० भैँसीलाई सुत्केरी भत्ता दिइयो ।

अन्न, दाना सहित पौष्टिक आहार किन्न सजिलो होस् भनेर किसानलाई यस्तो भत्ता दिएका हौँ” गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले भने–“सुत्केरी भैँसी धनीलाई भत्ताका लागि वडा मार्फत निवेदन आएका सबै किसानलाई भत्ता वितरण गर्ने कार्यक्रम छ ।”

सुत्केरीमा पोसिलो खानेकुरा खुवाउँदा लामो समय सम्म दूध धेरै दिने गरेकाले दूध उत्पादनमा वृद्धि ल्याउन भत्ता बाँडिएको उनले बताए । भैँसी पालनमा कमी भएकोले यसलाई थप प्रवर्द्धन गराउने मुख्य उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष रेग्मीको भनाइ रहेको छ ।

यस कार्यक्रमले भैँसी पाल्ने कृषकको सङ्ख्या वृद्धि हुने अपेक्षा पनि राखिएको अध्यक्ष रेग्मीले जानकारी दिए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.