धादिङ, असाेज ९ः शुक्रबार अस्पतालबाट सुत्केरी र अन्यलाई लिएर घर फर्किँदै गरेकाे ट्याक्सी पहिरोबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाबास गाउँपालिका ४ का ५० वर्षीया विष्णुमाया तामाङ रहेकी छन् ।
सुत्केरी लिएर काठमाडाैं धादिङबेशी तर्फ आउँदै गरेको बा १ ज १२६१ नम्बरको ट्याक्सी मलेखु धादिङबेसी सडक खण्डको पहिरोबाट खोलामा खसेको प्रहरीले जानकारी दिएकाे हाे । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा खनियाबास गाउँपालिका ४ का २२ वर्षीय आशिष तामाङ, ३१ वर्षीय सरोज तामाङ, २५ वर्षीया सन्तुमाया तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका १३ का ६० वर्षीय विर बहादुर तामाङ रहेका छन् ।
घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडाैंकाे ट्रमा सेन्टरमा भर्ना गरिएको बुझिएकाे छ ।