सुत्‍केरी गराउँदा पाठेघर नै सिलाइयो

रिपोर्ट नेपाल | 2018 Sep 27 | 08:53 am 3962

काठमाडौं, असोज ११: चिकित्सकको चरम लापरबाहीका कारण एक महिला पीडामा बाँच्नुपर्ने भएको छ। सल्यानकी पार्वती गजुरेल महताराले परोपकार प्रसूति गृह थापाथलीमा १० वर्षअघि शल्यक्रिया गरेर पहिलो बच्चा जन्माएकी थिइन् । शल्यक्रियाका क्रममा चिकित्सकले पाठेघरको आधा भाग सिलाइदिएपछि उनको दोस्रो बच्चा जन्माउने चाहना अधुरै रहने भएको छ।

शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाएको पुष्टि भएपछि उनले प्रसूति गृह र शल्यक्रियामा संलग्न चिकित्सक डा. ज्योत्सना शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएकी छन् । पाठेघर आधा सिलाइएकै कारण अर्को बच्चा हुने सम्भावना टरेको संकेत उपचारमा संलग्न चिकित्सकले दिएका छन्।

पहिलो बच्चा जन्माउन शल्यक्रिया गर्दा उनलाई धेरैपटक पेट दुखेर रक्तस्राव हुन थाल्यो । पटकपटक स्वास्थ्य परीक्षण गराउँदा रोग पत्ता लागेन। त्यसपछि उनी ओम अस्पताल पुगिन् । अस्पतालका चिकित्सक जागेश्वर गौतम र सुपात्र कोइरालाले पाठेघरको आधा भाग सिलाइएका कारण अर्को बच्चा नहुने र सधैंभरि पेट दुखेर रक्तस्राव भइरहने रिपोर्ट गत असार १६ गते दिएपछि पार्वतीले डा शर्मा र प्रसूति गृहविरुद्ध उजुरी गरेकी हुन्।

‘शल्यक्रियापछि समयसमयमा ओम अस्पतालमा गई जँचाउँदै आएकी छु । ओम अस्पतालमा जाँचबुझ गर्दा पनि पत्ता लगाउन नसक्दा बायोप्सी गराएकी थिएँ । रिपोर्टमा पहिलो बच्चा जन्माउने क्रममा शल्यक्रिया गर्दा पाठेघरको आधा भाग सिलाइएको प्रमाणित भएपछि मैले उजुरी गरेकी छु’, उनको उजुरीमा उल्लेख छ । उजुरीअनुसार पार्वतीको पहिलो शल्यक्रिया २०६५ कात्तिक ९ गते राति २१:१५ बजे गरिएको थियो । दोस्रो गर्भ रहन सकेन भने पटकपटक रक्तस्राव भएर उनलाई पीडा थपिँदै गयो । त्यसपछि उनले बायोप्सी गराएकी थिइन्।

पहिलो बच्चा जन्माउने क्रममा मरेर बाँचेको सुनाउँदै पार्वती आफूलाई न्याय मिल्नेमा आशावादी छन् । ‘न्यायका लागि मैले काठमाडौं जिल्ला प्रशासनमा उजुरी गरेकी छु,’ उनले भनिन्, ‘त्यहाँबाट प्रक्रिया अघि बढिरहेकाले अहिले त्यस विषयमा बोल्नु राम्रो हुन्न ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.