सुत्केरीको ज्यान गएपछि डडेलधुरा तनावग्रस्त

| 2019 Jun 15 | 02:18 pm 2449

डडेलधुरा, जेठ ३२:  डडेलधुराको उपक्षेत्रीय अस्पतालमा १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको ज्यान गएपछि पीडित पक्षले शुक्रबार राति अस्पताल परिसरमा नारावाजी गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए । चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै तोडफोडमा उत्रिएका पीडित पक्षले डडेलधुरा बजारमा गरेको चक्काजामका कारण शनिबार सदरमुकाम तनावग्रस्त भएको छ ।

अमरगढी नगरपालिका ६ की २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै आन्दोलित भएका हुन ।

दुईसाता अघि शल्यक्रिया गरेर अस्पतालमा वच्चा जन्माएकी ताम्राकारलाई अत्यधिक रक्तश्राव भएपछि शुक्रबार अस्पतालमा लगिएको थियो । चिकित्सकले उपचार गर्दागर्दै उनको मृत्यु भएपछि शुक्रबार राति सयौं गाउँले आएर अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालका अनुसार ९ दिन पछि ताम्राकारलाई अस्पतालले डिस्चार्ज गरेको थियो । १४ दिनपछि पुन रक्तश्राव सुरु भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेलधुरामा ८ पोका रगत दिएर धनगढी रिफर गर्नु अघि सुत्केरीको मृत्यु भएको थियो । स्थानीयले चिकित्सकले लापरवाही गरेकाले कार्वाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन ।

सदरमुकामको तुफानडाँडा चोकमा मृतकका आफन्त र गाउँलेले चक्काजाम गरेपछि पहाडी जिल्ला बझांग, दार्चुला र बैतडीबाट तराइका लागि हिँडेका सयौं यात्रु र दर्जनौं सवारी साधन अलपत्र परेका छन् ।

प्रशासनले शुक्रबार राति नै सर्वपक्षीय बैठक गरि समस्या समाधान गर्ने प्रयास गरे पनि अहिलेसम्म समाधान हुन सकेको छैन । पीडितका आफन्त र गाउँलेले राति भएको सहमति अनुरुप प्रशासनले कुनै काम नगरेका कारण आन्दोलन गर्नुपरेको बताए । पीडितका आफन्त केबी ताम्राकारले सहमति कार्यान्वयन भन्दा प्रशासनले दमन गर्न खोजेको आरोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.