सुगम भएर पनि सञ्चारविहीन उदयपुरको ताप्ली

रिपोर्ट नेपाल | 2018 Jul 04 | 08:45 am 4133

उदयपुर, असार २०: उदयपुर जिल्लाका आठ स्थानीय तह अर्थात चार नगरपालिका र चार गाउँपालिकामध्ये अहिले पनि जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा सञ्चार सुविधाको व्यवस्था हुन नसक्दा सञ्चारविहीन अवस्थामा रहेको छ।

जिल्लाका अन्य सबै स्थानीय तहमा विद्युत् तथा टेलिफोन सेवा, मोबाइल सेवाको राम्रो सुविधा रहेता पनि ताप्लीवासी भने सञ्चार सेवाविहीन अवस्थामा रहँदै आउनु परेको ताप्ली–४ का बमेन्द्र तामाङ बताउँछन्।

दुई वर्षअघि मात्र एकमात्र एनसेलको टावर ताप्लीस्थित इनामे पहाडको टुप्पोमा स्थापना भएपनि नेपाल टेलिकमको टावर तथा टेलिफोन सेवा व्यवस्था हुन नसक्दा सञ्चार सेवाविहीन हुन परेको स्थानीय जयन्द्र थापाले बताए।

थापा भन्छन्, “गाउँलेले कुनै क्षेत्रमा आफन्तसँग कुरा गर्नु पर्‍यो भने इनामे पहाडको टुप्पोमा दुईघण्टा हिँडेर पुगेमात्र एनसेल मोबाइल टिप्छ, नत्र गाउँभरि सञ्चार छैन, सबै खबर बुझ्न र सञ्चार सेवाका लागि कटारी धाउन बाध्य छौँ।”

नेपाल टेलिकमले सञ्चार सेवा विस्तार नगर्दा र यसको पहल नहुँदा इनामेबाहेक गाउँपालिकाका अन्य गाउँका बासिन्दा सञ्चारविहीन अवस्थामा रहनुपरेको स्थानीयवासीको गुनासो बढ्दै जान थालेको छ। रुपाटारका कुमारी खड्का भन्छन्, “सञ्चारसेवा नहुँदा काठमाडौँ तथा विराटनगरमा अध्ययन गर्ने छोराछोरीसँग कुराकानी गर्न चारघण्टा लगाएर कटारी झर्नुपर्ने बाध्यता छ।”

सञ्चारको अभावमा गाउँपालिकाको कार्यालयमा समेत अन्यत्रबाट आउने सर्कुलर, कागजात प्राप्त गर्नुपर्ने र ती कागजात लिन पनि कटारी नै धाउनुपर्ने बाध्यता रहेको ताप्ली गाउँपालिकाका अधिकृत लिला श्रेष्ठको गुनासो छ।

जिल्लाका सबै भागमा विद्युत् सञ्चार सुविधा व्यवस्था भइसके पनि ताप्ली गाउँपालिका अहिले पनि कर्णालीको हुम्लाभन्दा पनि पछाडि रहेको रुपाटारका एक शिक्षक नरेन्द्रलाल कर्णले बताए।

सञ्चारसेवा व्यवस्थापनको समस्याको विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापासँग जानकारी माग्दा आफूले ताप्लीमा नेपाल टेलिकमको टावर स्थापना गर्न पहल गरिरहेको बताए।

यस्तै, गाउँपालिकामा विद्युत्का लागि पनि पहल भइरहेको अध्यक्ष थापा बताउछन्। तर कहिलेसम्ममा व्यवस्थापन हुन्छ भन्ने कुरामा भने ग्यारेन्टी गर्न नसकिने थापाको धारणा छ ।

तराईको जिल्ला भएर पनि उदयपुरको ताप्ली गाउँपालिका अहिले पनि सञ्चार सेवाविहीन र विद्युत्विहीन अवस्थामा कर्णाली क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएको अवस्थामा रहनुपर्ने बाध्यता रहेको ताप्लीवासी जनताको गुनासो छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.