काठमाडौं, चैत ११ः छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका ३० सीमा नाका खुला छन् । तीमध्ये भारततर्फका मात्रै २८ नाकाबाट सहज आवतजावत हुँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको सहज आवागमनका कारण भारतबाट फेरि कोरोना संक्रमण फैलने जोखिम बढेको हो ।
नेपालमा संक्रमण सामान्य हुँदै गएपछि गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले १४ वटा नाका खुला गर्दै आइएकोमा थप १६ नाका खुला गरी ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । त्यसयता दैनिक कति व्यक्ति भारतीय भूमिबाट स्थलमार्ग हुँदै नेपाल आइरहेका छन् भन्ने तथ्यांकसमेत गृह मन्त्रालय र स्थानीय तहसँग छैन ।
‘पहिले १४ नाका खुला हुँदा तथ्यांक राखेका थियौं, अहिले ३० नाका खुला भएपछि दैनिक कति आउँछन्, तथ्यांक राखिएको छैन,’ गृह स्रोतले भन्यो । १० चैत २०७६ देखि नेपाल–भारत सीमा नाका सिल गरिएकोमा भारततर्फका १३ र चीनतर्फको एक नाका गत २६ साउनमा खुला गरिएको थियो ।
फेरि पनि समयमा नै सावधानी नअपनाउने हो भने संक्रमणको जोखिम बढ्ने देखिएको छ । खुला सीमाका कारण नेपाल र भारतबीचको आवतजावत सामान्य अवस्थामा पुगेकोमा भारतमा संक्रमणको दोस्रो चरणको लहर बढ्दै गएपछि सावधानी अपनाउन निर्देशन दिइएको गृहका अधिकारी बताउँछन् ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भारतमा संक्रमण दर बढ्दै गएपछि सीमा नाकामा स्वास्थ्य सावधानीमा कडाइका लागि निर्देशन गरिएको बताए । ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई यस्तो निर्देशन गरिएको उनले जानकारी दिएका हुन् ।
‘सीमा नाका भएर आउनेको अनिवार्य रूपमा अभिलेख राख्न, अनिवार्य स्वास्थ्य जाँच गर्न र सीमा नाका हुँदै आएकामा स्वास्थ्य जाँचका क्रममा ज्वरो आएको पाइए क्वारेनटाइनमा राख्न निर्देशन गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता बुढाले राजधानीसँग भने ।