काठमाडौं, असार १४ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको वृत्तिविकासमा सरकारले विशेष जोड दिनुपर्ने आवाज उठेको छ । बैठकमा बोल्दै नेकपाका नेताहरुले सीमावर्ती क्षेत्रका जनतालाई लक्षित गर्दै विकासका योजनाहरु ल्याउनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
जारी स्थायी कमिटी बैठकमा बोल्दै शनिबार नेताहरुले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ताका लागि सरकारले विशेष पहल गर्नुपर्ने धारणासमेत राखेका छन् ।
नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले सीमा नाकाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष प्याकेजसहितको योजना ल्याउनुपर्ने बताए । विना बर्दीका ती सीमा रक्षकहरुको विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।
‘बिना बर्दीका रूपमा सीमाको रक्षा गर्ने नेपाली जनताको विकासका लागि सरकारले विशेष ध्यान दिन आवश्यक छ, मण्डलले भने, ती नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु नभएको भए सीमाको रक्षा गर्न सकिँदैनथ्यो ।
उनले मानव विकास सूचकांकमा कर्णालीभन्दा पनि तल रहेको सीमावर्ती क्षेत्रमा सरकारले ध्यान नदिए झनझन गरिबी बढ्ने बताए ।
गरिब, किसान, पिछडिएको समुदायको दैनिक जीवन कष्टकर रहेको बताउँदै मण्डलले शिक्षा, स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा सरकारले लगानी गर्न आवश्यक रहेको बताए । राजधानी दैनिकबाट