सीमामा छेकिएन तस्करी

रिपोर्ट नेपाल | 2020 Nov 09 | 08:24 am 2043

महोत्तरी, कात्तिक २४ः जिल्लाकाे जलेश्वर भएर बखरी जाने बाटो बिहान ४ बजेदेखि नै व्यस्त हुन्छ। १२ देखि १५ वर्ष उमेरका बालबालिका र केही वयस्क साइकलमा केराउको बोरा लिएर घाम नउदाउँदै यही बाटो भएर सीमापारि भारतीय बजार पुग्छन्। अवैध रूपमा केराउ ओसारपसार गर्छन्।

उक्त बाटोबाट हुने तस्करीबारे स्थानीय सबैलाई थाहा छ। तर, प्रहरीले अवैध ओसारपसार रोक्न कुनै चासो दिएको छैन। सीमा क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, मेसिनरीलगायत नुनदेखि सुनसम्म दिनहुँ तस्करी भइरहँदा पनि प्रहरी ‘मूकदर्शक’ बनेको आरोप स्थानीय लगाउँछन्। प्रहरीले कहिलेकाहीँ थोरै मात्रामा सामान बरामद गर्ने गरे पनि मुख्य तस्कर खासै समातिएका छैनन्।

केही प्रहरी कर्मचारीकै मिलेमतोमा प्रदेश २ मा बढ्दो तस्करी नियन्त्रणबाहिर देखिएको छ। तस्करहरू प्रहरी अधिकारीसँग ‘लाइन’ मिलाएर निर्धक भई अवैध कारोबार गर्छन्। जिल्लामा नयाँ प्रहरी अधिकारी आए भने केही समय तस्करीका सामान नियन्त्रणमा लिने वा छापा हान्ने पनि गरिन्छ। तर, यस्तो बेला तस्करसामु प्रहरी नै निरीह बनेका थुप्रै उदाहरण प्रदेश २ मा छन्।

धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका–१ स्थित नेपाल–भारत सीमानजिकै गस्तीमा रहेको प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच वैशाख १८ गते झडप भयो। तस्करले प्रहरीका असइ प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल लुटे। उक्त हतियार सोही साँझ दशगजानजिकै नेपालतर्फ खरबारीमा भेटिएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्र मिश्रको कमान्डमा ११ प्रहरीको टोलीले भदौ १२ गते नेपाल—भारत सीमामा पर्ने दुहबी नाकाका ‘तस्कर’ राजीव महासेठको घरमा छापा हान्यो। महासेठले अवैध सामान ट्रकमा ल्याएर घरकै गोदाममा भण्डारण गरेको सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोली खटिएको थियो। आसपासमा खोजतलास चलिरहेकै बेला सीमावर्ती भारतीय गाउँबाट ५ सयभन्दा बढी मानिस आएर प्रहरीमाथि ढुंगामुढा गरे। प्रहरीले एक राउन्ड हवाई फायर गरी तत्कालै पछि हटेको थियो।

राजविराज नगरपालिका—१३ मुसहर्नियास्थित नहरमा प्रहरी र तस्कर समूहबीच झडप भयो। तस्करी गर्न लागेको सामान लिएर रातको समयमा खेतमा बसेको समूहले प्रहरीलाई घेरा हालेर आक्रमण गरेको थियो। त्यस क्रममा प्रहरी हवल्दार ३६ वर्षीय कमलदेव यादव र २७ वर्षीय दीपेन्द्र साह घाइते भएका थिए। अवैध सामान बरामद गर्न खोज्दा उनीहरूले होहल्ला गरेपछि २०–२५ स्थानीय धारिलो हतियार लिएर आक्रमणमा उत्रिएका थिए। प्रहरीले बचावमा चार राउन्ड हवाई फायर पनि ग¥यो। तस्करहरू प्रहरी हवल्दार यादवको साढे आठ हजार नगद र मोबाइल पनि लुटेर भागेका थिए।

लकडाउनको मौका छोपेर काठ तस्करी गर्न लागेकाहरूले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका १ महुली र अमसोत खोलामा प्रहरीसँग झडप गरे। गस्ती टोलीले बरामद गरेको काठ तस्करले लुट्ने प्रयास गरेपछि टोलीले आत्मरक्षामा दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो। तस्करहरू हतियारसहित वन क्षेत्रमा प्रवेश गर्न थालेपछि डिभिजन वन कार्यालय सप्तरीले द्वन्द्वकालमा बुझाएको १० थान बन्दुक र गोलीगठ्ठा जिल्ला प्रशासन कार्यालयबाट फिर्ता लिएको छ।

तस्करी नियन्त्रणकै लागि प्रदेश २ मा सशस्त्र प्रहरीले ५७ वटा बोर्डर आउट पोस्ट र ६३ वटा चेकपोस्ट स्थापना गरेको छ। सीमा सुरक्षा र तस्करी रोक्न ३५ सयभन्दा बढी सशस्त्र प्रहरी २४ सै घण्टा सीमामा तैनाथ छन्। तापनि तस्करहरू प्रहरीलाई छल्दै निरन्तर अवैध सामान ओसारपसार गर्छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.