काठमाडौँ, १२ असार : नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सिंगापुर बसाइ अझै एक साता लम्बिने भएको छ । पत्नी सिता दाहालको दाहालको स्वास्थ्यमा सुधार भइरहेको तर थप चेकअप गर्नुपर्ने भएकाले बसाइ लम्बिएको भतिजा समीर दाहालले जानकारी दिए।
पत्नी सीताको स्वास्थ्य अवस्था कमजोर भएपछि उपचारका लागि प्रचण्ड कान्छी छोरी गंगासहित गत साता सिंगापुर पुगेका थिए । गंगा भने आइतबार स्वदेश फर्किसकेकी छन् ।
छोरा प्रकाश दाहालको निधनपछि सीताको स्वास्थ्यमा समस्या थपिन थालेको थियो। निद्रा नलाग्ने, तागत नहुनेलगायत समस्या बढिरहेका छन्।पछिल्लो समय अन्य समस्या पनि भएको आशंका चिकित्सकले गरेपछि दाहाल परिवार सिंगापुर पुगेको हो। यसअघि पनि सीताको दिल्लीमा उपचार भएको थियो।
बुवा–आमासँगै सिंगापुर गएर स्वदेश फर्केकी छोरी गंगाले आमाको ‘वाटर थेरापी’ मार्फत उपचार भइरहेको र चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेको जानकारी दिइन्।