सिस्नो खेती बन्यो, आम्दानीको स्रोत

रिपोर्ट नेपाल | 2018 Nov 17 | 02:29 pm 8635

उदयपुर, मंसिर १ :  जिल्लाको त्रियुगा नगरपालिका–१५ साउनेस्थित कृषकहरुले व्यावसायिक रुपमा सिस्नो खेतीबाट वर्षै पिच्छे राम्रो आम्दानी गर्ने गरेका छन् ।

उक्त स्थानका कृष्णमाया मगरले यो वर्ष पनि सिस्नो बिक्रीको सिजन शुरु भएका कारण आफूले उत्पादन गरेको सिस्नो बिक्री गर्ने तयारी गरेको बताए । उनले घर वरपरको पाखा र बारीको काल्लाहरुमा व्यावसायिक सिस्नो खेती गर्दै आएका छन् । दशैँ र तिहारको बीचमा झण्डै १० हजारको सिस्नो बिक्री गरेको बताए । अव उनले यही मङ्सिरदेखि माघ महीनासम्ममा पचास हजारभन्दा माथिको सिस्नो बिक्री गर्ने लक्ष्य राखेका छन् ।

सो वडाको गैह्राटोलमा विगत केही वर्षयता कृषकहरुले व्यावसायिक सिस्नो खेती गर्दै आएको स्थानीय कृषक हर्कबहादुर मगरले बताए । उत्पादित सिस्नो सदरमुकाम गाईघाट बजारका होटल तथा स्थानीयको घर घरमा माग हुने गरेकाले सिस्नोका लागि बजारको समस्या नभएको उनको भनाइ छ ।

हप्ताको बुधबार र शनिबार सिस्नो गाईघाट बजार ल्याई प्रतिकिलो ४० देखि ६० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको कृषक जीतबहादुर मगरले बताए । यस ठाउँका स्थानीयले सिस्नुबाटै वार्षिक बीसदेखि पचास हजारभन्दा माथिसम्मको सिस्नो बिक्री गर्ने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.