सिसी क्यामराले अनुसन्धान सहज बनाउँदै

रिपोर्ट नेपाल | 2019 Feb 16 | 08:55 am 2114

सुरुङ्गा, फागुन ४ : अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखेको छ । मुख्य गरेर राजमार्गसँग जोडिएका ठूला बजारमा प्रहरीले सिसी क्यामरा चोकचोकमा जडान गरेको छ । साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन क्यामराले मद्दत पुर्‍याएपछि यो प्रहरीको प्राथमिकतामा परेको छ । बिर्तामोड नगरक्षेत्रमा मात्रै प्रहरीले रु ८० लाखभन्दा बढी लागतमा ६४ सिसी क्यामरा जडान गरेको छ ।

भद्रपुर नगरपालिकाका विभिन्न स्थानमा १४, बुद्धशान्ति गाउँपालिकास्थित बुधवारे, मेची राजमार्गमा दुई, जिल्ला प्रहरी कार्यालय तथा मातहतका मुद्दा चल्ने प्रहरी एकाइका हिरासत कक्षमा प्रहरीले पाँच-पाँचका दरले ३५ सिसी क्यामरा जडान गरिसकेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । यता शिवसताक्षी नगरपालिका र कचनकवल गाउँपालिकामा सिसी क्यामरा जडानको पहल भइरहेको प्रहरी प्रमुख ढकालको भनाइ थियो ।

चालू आर्थिक वर्षको छ महीनामा झापामा ७०० भन्दा बढी अपराधका घटना घटेका छन् । जसमध्ये यौनजन्य गतिविधि र गम्भीर अपराधका घटना बढी छन् । तर, सिसी क्यामराको माध्ययमबाट अनुसन्धानमा सहजता भएपछि आवश्यक ठाउँमा क्यामरा राख्ने कामलाई तीव्रता दिइएको प्रहरी प्रमुख ढकालले बताए ।

जनशक्ति र स्रोतसाधन कम हुँदा सो क्यामराको माध्यमले एउटै कोठामा बसेर पनि नगरको सुरक्षा गर्न सकिने भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा तत्कालीन प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले सिसी क्यामरा जडानकार्य शुरु गरेका थिए । उनको पहलमा बिर्तामोड नगरक्षेत्रमा मात्रै ६४ सिसी क्यामरा जडान भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.