सिरहा अपडेट : डीएसपी वलीसहित आठ प्रहरी घाइते

| 2023 Jan 09 | 08:22 am 997

सिरहा, पुस २५: सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुंगामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन्।

बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झडप भएको थियो।

भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास र गोलीसमेत चलाउनुपरेको थियो। झडपमा आन्दोलनकारीले पेट्रोल बमसहित ढुङ्गामुढा प्रहार गरेको मिर्चैया प्रहरी कार्यालयले जनाएको छ।

आन्दोलकारीको प्रहारबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामकुमार चौधरी गम्भीर घाइते हुनुभएको डिएसपी वलीले जानकारी दिए।

चौधरीको उपचारका लागि काठमाडौं रेफर गरिएको र अन्यको स्थानीय मंगलम अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गर्ने दुई व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र आन्दोलनकारीतर्फ कुनै क्षति नभएको प्रहरी प्रवक्ता एवं सिरहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

विद्यालयको लापरबाहीका कारण छात्रा सिर्जनाकुमारी महराको उपचारका क्रममा गएराति निधन भएको थियो।

अहिले राजमार्गमा सवारीसाधन आवतजावत सुचारु रहेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.