- महेश सिंह महतो
सिरहा असार १७: लहान नगरपालिका पड्रियास्थित चोकमा बुधबार अपरान्ह म्याजिक भ्यानलाई ट्रकले पछाडीबाट ठक्कर दिँदा दुई महिलासहित ३ जनाको मृत्यु भएको छ। एकको अवस्था गम्भीर रहेको छ भने म्याजिकमा सवार दर्जनभन्दा बढी मानिस घाईते भएका छन् ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यान पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना ८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १ बजेतिर पछाडीबाट ठक्कर दिई दुर्घटना भएको हो ।
ठक्करबाट म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।
दुर्घटनामा अन्य १५ जना घाईते भएको र घाईतेहरुलाई उपचारको लागि लहानस्थित रामप्रसाद उमाप्रसाद मरारक स्मारक अस्पताल तथा नर्सिङ होमहरुमा पठाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।
