काठमाडौं, माघ १२: सिरहामा एक युवकले आफ्नै श्रीमतीलाई जलाएर हत्या गरेका छन् ।
जिल्लाका दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ की २५ वर्षीया अनितादेवी यादवलाई उनकै श्रीमान विनोद यादवले जलाएको प्रहरीले जानकारी दिएको छ ।
आगोले जलेर गम्भीर अवस्थामा उनलाई उपचारको लागि विराटनगरको एक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको र लगत्तै कीर्तिपुर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
हत्या गरेको आरोपमा उनका श्रीमान विनोदलाई प्रहरीले पक्राउ गरेको छ ।
अनितालाई जलाएर मारिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको मौखिक उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उजुरीपछि मोरङ प्रहरीको सहयोगमा विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिएर शनिबार सिरहा ल्याइएको छ ।
केही दिन पहिले साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजु चौरासीवतीले अनिताको चरित्रको विषयमा कुरा लगाएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको प्रहरीले जनाएको छ ।
मृतककी एक चार वर्षीय छोरा रहेका छन् । उनलाई दरहैयास्थित मावलीमा ल्याएर राखिएको बुझिएको छ ।