सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटियाे

| 2022 Aug 01 | 03:03 pm 1641

हुम्ला, साउन १६ः हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ। सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जीवाणु भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ति फडेराले बताए। पहिलो पटक परीक्षण गर्दा सो जीवाणु देखिएको हो।

त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जीवाणु देखिएको थियो। पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नं ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरे। हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँ जस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोग हुनसक्ने संयोजक भण्डारीले बताए।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास)का संयोजक जङ्गबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने ‘वाकटेक’ मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताए। अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गरिने छ। गाउँपालिकाको स्वास्थ्य शाखाले नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य प्रयोगशाला परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.