‘सिन्डिकेट’ लाद्न तेल नदिने प्रयास

| 2023 Nov 21 | 08:07 am 753

काठमाडौँ, मङ्सिर ५। कागजमा सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको छ तर व्यवहारमा भने गाडीलाई इन्धनसमेत भर्न नदिने गरी पत्राचार र त्यसै अनुसार कार्यान्वयन पनि भएको छ । आफ्ना कम्पनीका गाडीलाई निःशुल्क एक सय लिटर डिजेल दिने तर अरूलाई भने तेल भर्न नदिने निर्णय भएको छ ।

सिन्डिकेट हटाइएको छ वर्ष नबित्दै सात सयभन्दा धेरै बस सञ्चालन गर्ने पूर्व अरनिको यातायात सेवा प्रालिले सिन्डिकेटकै झल्को दिने गरी आफ्ना गाडीलाई विभिन्न पम्पमा डिजेल नहाल्ने सूचना जारी गरेको हो ।

वर्षौंदेखि एकलौटी रूपमा अरनिको सेवा प्रालिको रुटमा गणेश हिमाल तराई, सुन्दर सगरमाथा र मध्यपहाडी यातायात प्रालिले बस चलाउन थालेपछि राजमार्गमा पर्ने तीन वटा पम्पमा डिजेल नहाल्न अरनिकोले सूचना जारी गरेको हो ।

५१ वर्षदेखि आफूहरूले गुणस्तरीय सेवा प्रदान गरिरहे पनि प्रतिस्पर्धाका नाउँमा प्रतिद्वन्द्वी कम्पनीका बसलाई उधारोमा तेल हालेकाले आफ्ना कम्पनीका बसले तीन वटा पेट्रोल पम्पमा डिजेल नहाल्न आह्वान गरेको पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले बताउनुभयो ।

उहाँले प्रालिको पदाधिकारी बैठकले चामुण्डा आयल स्टोर पाँचखाल, पाँचकुमारी आयल स्टोर २८ किलो धुलिखेल र उग्रचण्डी आयल स्टोर बनेपामा डिजेल नहाल्न आह्वान गरेको उल्लेख गर्नुभयो ।

“सात लाखसम्म उधारो दिएर हाम्रो रुटमा बस चलाउन थालेपछि डिजेल नहाल्ने सूचना जारी गरेका हौँ,” अध्यक्ष क्षेत्रीले भन्नुभयो । आफूहरूले नयाँ बस चलाइरहेको दाबी गर्दै अरूले पुराना बस ल्याएर प्रतिस्पर्धा गर्न खोजेपछि पहिलो चरणमा डिजेल नहाल्न आह्वान गरेको उहाँले बताउनुभयो ।

अरनिको यातायातले दाबी गरे अनुसार अन्य यातायात प्रालि भने स्वीकार गर्न तयार छैनन् । गणेश हिमाल तराई, सुन्दर सगरमाथा र मध्यपहाडी यातायात प्रालिले २० वर्षदेखि संयुक्त रूपमा सेवा पु¥याएका ठाउँमा अरनिको यातायात छिरेपछि आफूहरूले पनि सेवा विस्तार गरेको गणेश हिमाल तराई यातायातका अध्यक्ष आत्माराम थापाले बताउनुभयो ।

नगद र उधारोमा गर्ने कारोबारको अधिकार पम्प सञ्चालक र बस सञ्चालकको रहेकोमा ठुलो सेवा समितिका नाउँमा दादागिरी भएको थापाले दाबी गर्नुभयो । अन्य यातायात सेवा प्रालिका बसलाई रोक्न अरनिको यातायात सेवा प्रालिले अरू पनि अनेकौँ प्रयास गरिरहेको छ । रामेछाप, खोटाङमा आक्रमणको समेत प्रयास भएको थापाले बताउनुभयो ।

केही दिनअघि भक्तपुरको चुनदेवीको ग्यारेजमा पार्किङ गरिराखेका गाडीको छ वटै चक्काको हावा फुस्काएर अवरोध गरेका थिए । अरनिको यातायात सेवाका अध्यक्ष क्षेत्रीले आफ्नो समितिमा गैरसदस्यका गाडी भएकाले हावा फुस्काएको स्वीकार गर्नुभयो ।

त्यति मात्रै नभएर चाबहिलदेखि सूर्यविनायकसम्म अरू कम्पनीको गाडीको अघिपछि चार वटासम्म गाडी चलाएर मानसिक तनाव दिने गरेको गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष थापाले दाबी गर्नुभयो । थापाले सहज रूपमा यातायात सञ्चालनको वातावरण मिलाइदिन काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा, खोटाङ, उदयपुर, सोलुखुम्बु र दोलखाका प्रहरी प्रशासनलाई अनुरोध गर्ने योजना रहेको बताउनुभयो ।

सिन्डिकेट हटाउन सर्वोच्च अदालतले २०६७ माघ १९ गते ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई एकाधिकार कायम हुने, सिन्डिकेट, कार्टेलिङ र त्यस्ता अन्य कुनै पनि रूपका क्रियाकलाप सञ्चालन नगर्नू, नगराउनू’ भन्ने परमादेश जारी गरेको थियो । त्यसै आधारमा २०७५ वैशाख ४ गतेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्णय नम्बर नौमा ‘यातायात क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाको नवीकरण नगर्ने’ निर्णय गरेको थियो । सार्वजनिक यातायातसँग सम्बन्धित भए पनि समितिहरू सङ्घ संस्था दर्ता ऐन २०३४ अनुरूप दर्ता भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नभई त्यो प्रस्ताव गृहले ल्याएको थियो । सोही आधारमा सिन्डिकेट अन्त्य भएको थियो ।

(गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.