काठमाडौं, चैत ९: सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमानले साढे तीन घन्टापछि यात्रु ओरालेको छ ।
सिंगापुरबाट आएको सिल्क एयरको विमान शनिबार राति ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । करिब साढे ३ घन्टासम्म यात्रुको नाराबाजीपछि विमानस्थल प्रशासनले यात्रुलाई ओराल्ने निर्णय गरेको हो ।
विमानमा नेपाल प्रवेश गर्न रोक लगाइएको मुलुक नेदरल्याण्ड्सबाट समेत यात्रु सवार थिए । विमानमा नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाएको देशका नागरिक भएकाले बाहिर निस्कन दिइएको थिएन । त्यसपछि यात्रुहरूले ओर्लिन पाउनुपर्ने माग गर्दै विमानभित्रै नाराबाजी गरेका थिए ।
नागरि उड्डयन प्राधिकरणले इन्धन भर्न दिने तर कोही पनि यात्रु ओर्लन नदिई फिर्ता पठाउने तयारी गरेको थियो । तर, मध्यरातमा सबैलाई ओरालिएको छ । विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले यात्रुलाई ओरालिएको बताए ।
शाहका अनुसार सबै यात्रुलाई अब क्वारेन्टाइनमा पठाइनेछ । सोही हवाईजहाजबाट सिंगापुर जानका लागि १ सय ६० जना यात्रुहरुले बोर्डिङ पाससमेत लिएका छन् ।
यसअघि पनि प्रतिबन्ध उल्लंघन गर्दै विदेशी विमान कम्पनीले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउनेगरी प्रतिबन्ध लगाएको थियो । सरकारले आजबाटै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ ।