सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

रिपोर्ट नेपाल | 2020 Mar 12 | 02:05 pm 1466

पाल्पा, फागुन २९: सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्न आगामी चैत १ देखि १२ गतेसम्म दैनिक आठ घण्टा बन्द गरिँदैछ ।

घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिकरुपमा भए पनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ ।

चैत १२ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ देखि ११ बजेसम्म सडक बन्द हुनेछ । दैनिक तीन समयमा सडक बन्द हुने भएको हुँदा सो समयमा काम हुने ठाउँको नजिक बढी भिडभाड नगरी ट्राफिक नियमको पालना गरी सहयोग गरिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले अनुरोध गरेका छन् ।

सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत, गुल्मीलगायतका धेरै जिल्लामा दैनिक सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिरोका कारण धेरैले ज्यान गुमाउनुपरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.