पाल्पा, भदाै २७: शुक्रबार बिहान सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका नजिकै पहिरोले दुईवटा सवारी साधन पुरेकाे छ । पहिराेले सवारी पुर्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएकाे प्रहरीले जानकारी दिए ।

पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ जीप र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जीपलाई माथिल्लो भागबाट खसेको ढुंगासहितको पहिरोले पुरेको स्थानीय प्रहरीले बताए । बुटवल गइरहेको जीपमा सवार चालकसहित ३ जना घाइते छन् भने पाल्पा आइरहेको जीपमा पनि चालकसहित ४ जना मात्रै सवार रहेकाे बुझिएकाे छ ।

प्रहरी चौकीका दोभानका अनुसार दुई सवारी साधनमा भएका ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएकाे बताए। उक्त दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कमल परियार रहेकाे प्रहरीले जनाए।
घाइते भएका सबैलाई उपचारका लागि बुटवलतर्फ लगिएको बताइएकाे छ । अहिले पहिरोका कारण सिद्धार्थ राजमार्गमा सवारी साधन अवरुद्ध भएकाे छ। राजमार्ग सवारी संचालनका लागि प्रयास थालिएको दोभान प्रहरी चौकीले जानकारी दिए ।