सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत विराटनगर आदेश

रिपोर्ट नेपाल | 2020 Jan 23 | 07:38 pm 2441

काठमाडौं, माघ ९: गत मंसिर १६ गते अनुयायीमाथि बलात्कार गरेको अरोपमा पक्राउ परेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई मुद्दा उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जिल्ला अदालत सुनसरीले उनलाई पुस १४ गते तीन लाख रुपैयाँ धरौटीमा छोडेको थियो।

उनलाई मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो।

जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोड्न गरेको आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको रजिष्टार जितेन्द्र थपलियाले जानकारी दिए।

उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाइ भइरहँदा गिरी भने भारत गएको बुझिएको छ। बिहीबार दिउँसो १ बजे उनी ग १ च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारी गएको बताइएको हो ।

बडिगार्ड प्रहरी हवल्दार मुकेश साहलाई नेपालपट्टि ओर्लाएर कृष्णदास भारत गएको मोरङ प्रहरीले जनाएको छ। केही दिनयता उनी उपचारका लागि भन्दै भारत जाने–आउने गरिरहेका थिए। बिहीबार उच्च अदालतमा थुनछेक बहस चलिरहँदा गिरी भारत हिँडेका हुन्।

प्रहरी स्रोतका अनुसार मुद्दा आफ्नो पक्षमा भए नेपाल फर्किने नभए भारततिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने योजनाअनुसार उनी गएका पनि हुन सक्ने बताइएको छ । यसबारे केही पनि भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।

गिरी भारत हिँडेको सूचना उनकै बडीगार्डले दिएका थिए। केही समर्थक र अनुयायीसाथ उनी आफ्नो आश्रमबाट बिहान उच्च अदालत जाने भन्दै हिँडेका थिए। अदालत नगई उनी सोझै जोगबनी पुगेको प्रहरी स्रोतले जनाएको छ।

उनलाई गत कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.