सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प

रिपोर्ट नेपाल | 2022 Nov 16 | 07:21 am 1305

बाँके, कात्तिक ३०ः नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुगे । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुने र गठबन्धनका लागि जनतासँग भोट मागे । जनगुनासो सुनिसकेपछि उनले भने, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”

कांग्रेस सहमहामन्त्री राठौरले झन्डै दुई दशकदेखि निर्माणको चरणमा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई पूर्णता दिने लक्ष्य राखेका छन् । उनले नयाँ सरकार गठन भएलगत्तै सिक्टा सिँचाइ आयोजनासँगै भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई पूर्णता दिने बताए ।

उनले भने, “बाँके क्षेत्र नं. ३ को विकास र समुन्नतिको कुरा छँदैछ, मेरो प्राथमिकतामा बाँके र बर्दियाका ५०औँ हजार हेक्टर जमिन सिञ्चित गर्ने राष्ट्रिय गौरवका आयोजना पूरा गर्ने नै हो ।” उनले मुक्तकमैया तथा सुकुम्बासी समस्या समाधान गर्ने तथा आर्थिकोपार्जनका क्षेत्रमा काम गर्ने विषयमा पनि ध्यान दिने बताए ।

युवा तथा खेलकुदमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता एवं गठबन्धनका बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वरजङ्ग गहतराज अथकले पनि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिनेसँगै जनजीविकासँग जोडिएका विषयलाई चुनावी मुद्दा बनाएको छ । उनले भने, “बाँकेमा विकास निर्माणले पछि परेका क्षेत्रहरूलाई एकीकृत विकास मोडलमार्फत समुन्नत बनाउने योजनाका साथ चुनावी अभियानमा जुटेको छु ।”

सत्ता गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार एवं कांग्रेस नेता सुदीपनरसिंह राणाले मध्य र सुदूरपश्चिमको पुरानो बजार नेपालगञ्ज साबिकका चारवटा अञ्चलको हाटबजार भएकाले यस जिल्लाका उम्मेदवारहरूलाई नागरिकले अर्जुनदृष्टिका साथ हेर्ने बताए । उनले जनताका ससाना समस्या पनि समाधान गर्ने उद्देश्यले आफू चुनावी अभियानमा होमिएको बताए ।

जनता समाजवादी पार्टीका बाँके क्षेत्र नं. २ का उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले अघिल्लो निर्वाचनमा पूरा नभएका काम यस पटक पूरा गर्ने लक्ष्य राखेको बताए । त्यसैगरी नेकपा (एमाले)का बाँके क्षेत्र नं. ३ का उम्मेदवार किस्मतकुमार कक्षपतिले समृद्धिप्रतिको जनचाहना पूरा गर्ने आफ्नो अठोट रहेको बताए ।

बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ ११ जना, क्षेत्र नं. २ मा १६ जना र क्षेत्र नं. ३ मा ९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभाका ६ क्षेत्रमा ५३ जनाको उम्मेदवारी परेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.