सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै

रिपोर्ट नेपाल | 2018 Aug 07 | 05:15 pm 4378

पाँचथर, साउन २२ : भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।

नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किमीसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन ।

उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ ।

सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताउनुभयो । “हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौंदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.