सिके राउतसँग भएको सम्झौता खारेजको माग गर्दै नेविसंघले गर्‍यो प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Mar 11 | 06:44 pm 2259

काठमाडौँ, फागुन  २७ : सरकार र सिके राउतबीच भएको सम्झौतालाई खारेजको माग गर्दै नेपाल विद्यार्थी संघ  (नेविसंघ)ले प्रदर्शन गरेको छ । आज सोमबार काठमाडौँको रत्न राज्य क्याम्पस अगाडि सरकारले राष्ट्रलाई टुक्राउने सम्झौता गरेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघ आर आर क्याम्पस इकाईको नेतृत्वमा प्रदर्शन गरेको नेविसंघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले जानकारी दिए। आन्दोलनमा नेविसंघ आर आर क्याम्पस इकाई अध्यक्ष सन्जिव ढकाल, पुष्कर बास्तोला, धादिङका विद्यार्थी नेता विकास अधिकारी लगाए तीन दर्जन नेता कार्यकर्ता हरूको सहभागी रहेको थियो। सरकारले सिके राउतसँग भएको सम्झौता कार्यन्वयन गरे देश बिखन्डनमा जाने आन्दोलनमा सहभागी नेताहरू बताए।

बिहीबार जेलबाट रिहा भएका सिके राउत र नेपाल सरकारबीच गत शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच ११ बुँदे सहमति भएको थियो। सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।

आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका थिए । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.