सिरहा, चेत्र ३ : गत फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सहमतिको विषयमा छलफल गर्न सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा हुने भएको छ ।
सरकारसँग राउतले गरेको ११ बुँदे सहमतिपछि अगामी रणनीतिको विषयमा छलफल गर्न परिषद् बैठक बोलाइएको बताएका छन्।
बैठकमा तराई मधेस अन्तर्गत हरेक जिल्लाका दुईदेखि तीन जना र गठबन्धनका केन्द्रीय पदाधिकारीसहित झण्डै ९० जना सहभागी हुने बुझिएको छ । मारवाडी सेवा सदनको सभाकक्षमा हुने बैठकमा सहभागी हुन राउत आज आइतबार लहान आइपुगेको बुझिएको छ। बैठकमा भएका छलफल बारे सूचना बाहिरिने कुरालाई मध्यनजर राख्दै सहभागीलाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ।
सहभागी हुन आउनेलेआफ्नो नागरिकता अनिवार्य ल्याउनु पर्ने सर्कुलर जारी गरिएको बुझिएको छ । बैठक स्थलमा प्रहरी र सञ्चारकर्मीलाई समेत निषेध गरिएको छ। सदनको मूल गेटमा कालो चस्मा र मास्क लगाएर बसेका गठबन्धनका कार्यकर्ताले विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरुको झोला, शरीर खानतलासी गरी आधिकारिक परिचय पत्र देखाएपछि मात्र प्रवेश गर्न दिएका छन्।