काठमाडौं, चैत्र १३ : नेपाल प्रहरीले अघि सारेको समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको आज आयोजित एक कार्यक्रमका सहभागिले जनाएका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले बुधबार गरेको घरदैलो कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले साझेदारी कार्यक्रमले नागरिक र प्रहरीबीच आत्मीयता बढाएको बताए ।
डिएसपी आचार्यले प्राय अपराधकर्म गर्नेहरु हाम्रै घरमा बस्ने भएकोले त्यस्ताको पहिचान गर्न र कानुनको दायरामा ल्याउन साझेदारी कार्यक्रम अन्तर्गत घर दैलो कार्यक्रमले ठूलो मद्दत पुग्ने बताए ।

प्रहरीका कमिकमजोरी औल्याइदिन आग्रह गर्दै सचेतनाका लागि हातेमालो गरेर अघि बढ्नुपर्ने कुरामा आचार्यको जोड रहेको थियो । बरिष्ठ कलाकार एवम् समाजसेवी मदनदास श्रेष्ठले व्यांग्यात्मक शैलीमा सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने नारा त लगाइयो अहिले गाउँमा सिंह मात्रै पठाएर दरबार शहरमै राखेजस्तै घरदैलो कार्यक्रम हुन नहुने बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारको सभापतित्वमा सम्पन्न घरदैलो कार्यक्रममा वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्की, वडा नम्बर २९ का कुशकुमार ढकाल, टंक श्रेष्ठ, दिपेन्द्र खड्की, प्रह्लाद प्रसाईलगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

लक्ष्मीप्रसाद प्रसाइले स्वागत गरेको कार्यक्रममा वृत्तले गरेका गतिविधिका विषयमा प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रकाश परेका थिए । कार्यक्रमका सभापति हिरालाल तण्डुकार र डिएसपी काजीकुमार आचार्यले संयुक्त रुपमा स्टिकर टासेर घरदैलो कार्यक्रमको शुभारम्भ गरेका थिए ।
