काठमाडौं, जेठ १७ः अनामनगर स्थित नेपाल मेघा स्कुल र ओक्सीडेण्टल स्कुल एरियाको सडकमा अव्यवस्थित किसिमले घण्टौं गाडी पार्किङ गर्न थालेपछि मंगलबार सिंहदरबार ट्राफिकले कारबाही गरेको छ ।
सडकमा गाडी पार्किङ गरेर दिनभर बेपत्ता हुने गाडी धनीको दादागिरीलाई ट्राफिक प्रहरीले कानुनको दायरामा ल्याएर कारबाही सुरु गरेपछि स्थानीय बासीले ट्राफिक प्रहरीलाई स्याबासी दिएका छन् ।
केही समय अघि रिपोर्ट नेपाल डटकमले सार्वजनिक सडकमा व्यक्तिवादी गाडी पार्किङ गरेर समस्या बनाएको समाचार प्रकाशित गरेपछि ट्राफिक प्रहीले अप्रेशन चलाएको थियो ।
केही दिन गाडी धनीले सडकमा पार्किङ नगरे पनि पछिल्लो हप्ता दिनदेखि दादागिरी तरिकाले पार्कीङ गर्न थालेपछि स्थानीयबासीको गुनासोको आधारमा ट्राफिकले कारबाही थालेको हो ।
सडकमा पार्किङ गरेर पुतली सडकदेखि बबर महलसम्म आफ्ना कार्यालय जाने गाडी धनीले हामीले कहाँ पार्कीङ गर्ने त भन्ने जस्ता काइते प्रश्न गरेका थिए ।
त्यसको जवाफमा ट्राफिक प्रहरीले नम्र शैलीमा भरखर निर्वाचित भएका जनप्रतिनिधि कहाँ कुरा राख्नुस् हामी त ट्राफिक व्वस्थापन गर्ने हो पार्किङ खोजिदिने होइन भनेर मिठो जवाफ दिएका थिए । ट्राफिक प्रहरीको यो कार्यको स्थानीयबासीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।