सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीसँग दाेस्राे भिडियो कन्फ्रेन्समार्फत कुराकानी

रिपोर्ट नेपाल | 2019 Sep 04 | 07:42 am 1503

काठमाडौं, भदाै १८: कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए। जम्मा भएको केही क्षणपछि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली इन्टरनेटको भिडियो सर्भिसमा देखिएका थिए।

कार्यवाहक प्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरूले सञ्चो–विसञ्चो सोधेका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पनि मन्त्रीहरूको काम–कारबाहीबारे चासो राखेका छन्।

स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच यस्तो कुराकानी भएको थियो।

तर, यसलाई मन्त्रिपरिषद्को बैठक भनिएन। प्रधानमन्त्री ओलीले दोस्रोचोटि सिंगापुरबाट आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामबारेमा छलफल गरे। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भने– ‘उहाँले आफ्नो उपचारबारे जानकारी दिनुभएको छ।

भदौ ९ गते भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीलाई प्रधानमन्त्री स्वयं र राजनीतिक सल्लाहकार रिमालले मन्त्रिपरिषद्को बैठक भनेका थिए।

यसले गर्दा त्यसको वैधानिकता, सुरक्षालाई लिएर संसद् हुँदै सार्वजनिक सभा, समारोहमा समेत टीका–टिप्पणी भएको थियो। प्रमुख प्रतिपक्षी दल कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थिए।

सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने सो बैठकलाई ‘भिडियो कन्फ्रेन्सिङको पहिलो अभ्यास’ मात्र भएकाे भनेका थिए। प्रवक्ता बाँस्कोटाले प्रधानमन्त्रीले ‘हेल्लो’ मात्र भनेको र आफूहरूले नमस्कार मात्र गरेको जवाफ संसदमा दिएका थिए।

यसले गर्दा दोस्रोपटक भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीलाई छलफल मात्र भनिएको बुझिएको छ। हिजोको बैठकलाई मन्त्रिपरिषद्को बैठक भनिएको छैन। ‘प्रविधिको उच्चतम विकास भएकोे बेला प्रधानमन्त्रीले पनि त्यसको सदुपयोग गर्नुभएको रूपमा बुझ्नु आवश्यक छ।’ –पूर्वसामान्य प्रशासनमन्त्रीसमेत रहेका नेकपाकी नेतृ पम्फा भुसालले भने।

सबै मन्त्री एक ठाउँमा बसेर कुराकानी गर्नु कतिको व्यावहारिक छ त भन्ने प्रश्नमा नेतृ भुसालले भने– ‘सबै मन्त्रीलाई अलग–अलग कुराकानी गर्दा समय धेरै लाग्ने, व्यावहारिक कठिनाइ हुने भएकाले सामूहिक रूपमा कुराकानी गर्नुभएको हो।’

यस किसिमको कुराकानी फेसबुक, टेलिफोनमार्फत कुराकानी गर्नुसरह रहेको पनि नेतृ भुसालको भनाइ छ। प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोग गर्नु सकारात्मक रहेको बताउँदै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँडले भने– ‘तर, यसलाई मन्त्रिपरिषद्को बैठक भन्नुभएन।

अघिल्लो बैठकलाई मन्त्रिपरिषद्को बैठक भनेकाले मात्र हामीले विरोध जनाएका हौं। कुराकानी, हाईहेल्लो गर्नुमा हाम्रो आपत्ति छैन।’मन्त्रिपरिषद्को बैठकको संवेदनशीलता, गोपनीयता र कतिपय अवस्थामा राष्ट्रियतासँग सम्बन्धित हुने भएकाले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न नहुनेमा आफ्नो भनाइ रहेको पनि नेता खाँडले बताए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.