काठमाडाैं, जेठ २६: दलित भनेर पटकपटक विभेद गरेपछि कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार स्थानीय सुनील नगरकोटीमाथि खुकुरी प्रहार गरेका छन् ।
शनिबार साँझ धाराको पानी छोएको निहुँमा नगरकोटीले विवाद गर्न खोजेपछि राजकुमारले खुकुरी प्रहार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।
घटनापछि गम्भीर घाइते भएका नगरकोटीलाई स्थानीयले जोरपाटीको नेपाल मेडिकल कलेजमा उपचारका लागि लगेका थिए । प्रहरीलाई दिएको बयानमा सार्कीले आफ्नो कसुर स्वीकारेका छन् । उनले रीस थाम्न नसकेर छेउमा भेटेको हतियारले प्रहार गरेको बताएका छन् ।
थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले सार्कीलाई प्रहरी वृत्त, बौद्धको जिम्मा लगाएको प्रहीले जनाएकाे छ ।