माेरङ, भदाै ६: सामूहिक बलात्कार आरोपमा विराटनगरबाट पक्राउ परेका कराँतेका दुई जना प्रशिक्षक कारागार चलान भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का स्थायी प्रशिक्षक विराटनगर महानगरपालिका-३ का विनोद राउत र विराटनगर-४ का सुरज भनिने अमर सुवेदीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो।
न्यायाधीश राजेशकुमार कटवालको इजलासले आदेश दिएपछि उनीहरुलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।
उनका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी दुवै जनालाई थुनामा राख्न इजलासले आदेश दिएको हो।
राउत र सुवेदीविरुद्ध गत बिहीबार अदालतमा मुद्दा दर्ता भएको थियो। सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्रालाई सामूहिक बलात्कार गरेको आरोप लागेपछि गत साउन ८ गते पक्राउ गरेर प्रहरीले दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो।
अनुसन्धान सकेपछि प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिलको कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै सुवेदी र राउतलाई प्रतिवादी बनाएर अधिकतम १५ वर्षसम्मको कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको थियो।
छात्रालाई धम्की दिएर सामूहिक बलात्कार गरेको आरोप उनीहरुमाथि छ। विराट होटलको १०४ नम्बर कोठामा लगेर दुवै जनाले करणी गरेको अभियोग पत्रमा उल्लेख छ। घटनाको मिति भने उल्लेख छैन।
तर पीडित छात्राले चार महिनाअघिदेखि सुवेदीले निरन्तर र गत जेठमा दुई जनाले होटलमा लगेर सामूहिक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्।
जाहेरीमा उल्लेख भएअनुसार सुरुमा होटलमा सुवेदीले लगेका हुन्। त्यसपछि उनले फोन गरेर राउतलाई बोलाएका थिए।
छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज पदमा सुवेदी कार्यरत थिए। परीक्षामा सहयोग गर्ने बाहानामा नजिक भएर बारम्बार बलात्कार गरेको आरोप सुवेदीमाथि लागेको छ।