सामुदायिक विद्यालयमा सुधार

रिपोर्ट नेपाल | 2023 Feb 01 | 07:32 am 1529

सिरहा, माघ १८ः नवरापुर गाउँपालिका–१, करमनियाँस्थित अवधी ठकनी आधारभूत विद्यालयमा भएको शैक्षिक सुधारले अन्य विद्यालयका लागि प्रेरणाको स्रोत बनेको छ। प्रधानाध्यापकको सक्रियताले विद्यालय नमुना बनेसँगै सामुदायिक विद्यालयको शैक्षिक सुधारको प्रेरक भएको छ।

बाह्र वर्ष अगाडि गाउँमा फुसको घरबाट सुरु भएको विद्यालयमा अहिले दुईतले भवन, जाडोमा आगो ताप्ने हिटर, गर्मीमा पङ्खा, कक्षा सजावट, सरसफाइ र गुणस्तरीय शिक्षण कार्यले नमुना बनेको हो। प्रधानाध्यापक महेन्द्रप्रसाद साहको सक्रियताले विद्यालयमा उल्लेखनीय सुधार भएको हो।

विद्यालय भएको नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउद्गार यादवले सामुदायिक विद्यालयप्रति अभिभावकको गुम्दै गइरहेको विश्वासलाई पुनः आकर्षित गराउन सकिएको बताए। हरेक गाउँबाट विद्यार्थीलाई संस्थागत अङ्ग्रेजी विद्यालयमा पठाउने होडबाजीलाई रोक्न उक्त विद्यालयलाई प्रेरणाको स्रोतका रूपमा लिइएको उनको भनाइ छ। अन्य आधारभूत विद्यालयको शैक्षिक र भौतिक विकास गर्न लागि परेको अध्यक्ष यादवले बताए।

२०६७ सालमा गाउँमा पतिपत्नी समाजसेवी अवधी यादव र फेकनी यादवले दिएको चार कट्ठा जग्गामा फुसको घर बनाएर एक कक्षाबाट विद्यालय सुरु गरिएको थियो। २०७४ सालमा कक्षा पाँचसम्मको पढाइ सञ्चालन भएको प्रधानाध्यापक महेन्द्रप्रसाद साहले बताए।

प्रअ साहका अन्सार विद्यालय व्यस्थापन समितिको सहयोग र आफ्नो सक्रियताले उपलब्धि हासिल गर्न सकिएको हो।

दुईतले चार कोठा पक्की भवन, दुईवटा सुविधा सम्पन्न शौचालय, सीसीटिभी क्यामरा जडान र स्मार्टबोर्ड प्रयोगमा ल्याउने तयारी पूरा भइसकको छ। जाडोमा हिटर र गर्मीमा पङ्खासमेत जडान गरेकोले विद्यार्थी विद्यालय आउन पाउँदा खुसी हुने गरेका छन्।

एक जना स्थायी दरबन्दी, दुई जना बाल विकास शिक्षिका र एक जना निजी स्रोतका शिक्षक रहेको यस विद्यालयमा अहिले १६५ जना विद्यार्थी अध्ययनरत छन्। सुरुमा दस जना विद्यार्थीबाट कक्षा सुरु भएको थियो। प्रअ साहले जिल्लाकै नमुना विद्यालय बनाउने धोको पूरा गर्न गाउँपालिकाले थप शिक्षक र अन्य सुविधासमेत दिने प्रतिबद्धता गरेकोले लक्ष्यमा पुग्न समय नलाग्ने विश्वास व्यक्त गरे।

जनता माध्यमिक विद्यालय सोठियाइनका अवकाश प्राप्त शिक्षक राविहारी साह भन्छन्, “ठकनी अवधी आधारभूत विद्यालय यस भेगका लागि सामुदायिक विद्यालयको सुधार कसरी गर्नुपर्छ ? त्यसका लागि उदाहरण र प्रेरणाको स्रोत भएको छ। विद्यालयमा प्रवेश गर्दा सहरी क्षेत्रमा संस्थागत अङ्ग्रेजी विद्यालयले समेत गर्न नसकेको काम गरेका छन्।” दाता परिवार तथा त्यस विद्यालयका पूर्वव्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार यादवले विद्यालयको प्रधानाध्यापक इमानदार भए सामुदायिक विद्यालको सुधारमा समय नलाग्ने बताए।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.