-
कौरव खत्री
गुल्मी, मंसिर २७ः गुल्मीको अमरावती कृषी सहकारी संस्था लि. द्धारा सञ्चालित सामुदायिक रेडियो छत्रभूमी मुसिकोट नगरपालिका १ पौदीअमराईमा उद्घाटन गरिएको छ ।

रेडियोको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेल जीवनले रेडियोहरु सूचनाका विश्वसनीय श्रोत भएकाले सिर्जनात्मक भई जनभावना अनुसार सेवामुखी रुपमा निष्पक्ष भएर कार्यक्रम प्रसारण गर्न आग्रह गरे ।
त्यस्तै नगरप्रमुख खरेलले रेडियोलाई आवश्यक सहयोग गर्न मुसिकोट नगरपालिका सदैव तत्पर रहने भन्दै रेडियोको सञ्चालन र निरन्तरताको शुभकामना दिए । साथै उनले सञ्चार माध्यमले समाजको सबै वर्ग, क्षेत्र समुदाय र सम्प्रदायलाई समेटेर अगाडी बढ्नुपर्ने चुनौती रहेको भन्दै पौँदेली कला संस्कृति, सभ्यतालाई जोगाउँदै रेडियोले यसको संरक्षणमा थप बल पुग्ने बताए।

त्यसैगरी मुसिकोट नगरपालिकाकी नगर उपप्रमुख गंगा श्रेष्ठले आफ्नै गाँउ ठाँउमा रेडियोको स्थापना हुँदा आफूलाई निकै खुसी लागेको र यसमा सबैको सहयोग र सद्भावले रेडियो सफल हुने बताइन्।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे, नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले, समाजसेवी हरिनारायण सापकोटा, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री, युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेल, सरस्वति माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेल, जनज्योति माध्यमिक विद्यालयका शिक्षक मोहनलाल पौड्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोको प्रगतिको कामना गरेका थिए ।
मुसिकोट नगरपालिका वडा नं १ पौँदी अमराईमा स्टेशन रहेको रेडियो १ सय वाट क्षमताको ९३.६ मेगाहर्जको रेडियो प्रशारण भईरहेको छ । रेडियोले समाचारमुलक तथा सन्देशमुलक सुचना र सञ्चारको क्षेत्रमा सत्य र तथ्यमा आधारित भएर गत आइतबारबाटै नियमति प्रशारण आरम्भ गरेको स्टेशन म्यानेजर माधव खरेलले बताए ।
कार्यक्रम सामुदायिक रेडियो छत्रभूमी रेडियो सञ्चालक समितिका अध्यक्ष पूर्ण बहादुर हितानको अध्यक्षता तथा शेयर सदस्य प्रकाश श्रेष्ठको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालनक भने रेडियोका स्टेशन म्यानेजर माधव खरेलले गरेका थिए ।