सामाजिक सुरक्षा कोषबाट ३ हजार लाभान्वित

रिपोर्ट नेपाल | 2021 Jun 29 | 07:29 am 1293

काठमाडौं, असार १५: सामाजिक सुरक्षा कोषबाट ३ हजारभन्दा बढीले सेवा सुविधा पाउन थालेका छन्। दुई वर्षअघि सञ्चालनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबाट ३ हजार ५३ जनाले नियमित सुविधा पाइरहेको कोषले जनाएको छ। उनीहरूले कोषबाट ११ करोड ६२ लाख रुपैयाँ पाएका छन्।

कोषका अनुसार सबैभन्दा बढी वृद्धअवस्था सुरक्षा योजनामा ८ सय ७४ योगदानकर्तालाई ६ करोड ९७ लाख  रकम भुक्तानी गरिएको छ।

औषधिउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबाट बढी योगदानकर्ता लाभान्वित भएका छन्। यस योजनाबाट २ हजार ४७ योगदानकर्ताले ३ करोड ९१ लाख रुपैयाँ लाभ पाएका छन्।

कोषले दुर्घटना तथा अशक्तता योजनामा ९१ योगदानकर्तालाई २६ लाख ९१ हजार दाबी भुक्तानी गरेको छ। त्यस्तै आश्रित परिवार सुरक्षा योजनामा ४१ आश्रित परिवारलाई ४८ लाख ३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समयमा कोषप्रति आकर्षित हुने क्रम बढ्दै गएको बताए। कोषमा आबद्ध नभएका कुनै कम्पनीका कर्मचारी समस्यामा परेमा कोषले समन्वय गरेर कम्पनीबाटै सेवासुविधा असुल उपर गराउँदै उनले बताए।

कोषका अनुसार हालसम्म १४ हजार ५ सय ८० रोजगारदाता सामेल भएका छन्। ती रोजगारदाताका २ लाख ५१ हजार २ सय ९२ श्रमिकले नियमित योगदान गर्छन्। कोषमा हालसम्म ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भइसकेको छ।

कोषका अनुसार विभिन्न २२ क्षेत्रका रोजगारदाता र श्रमिक कोषमा सामेल भएका छन्। शिक्षातर्फ २ हजार ८ सय ७५, उत्पादनतर्फका १ हजार ८ सय ३५, फाइनान्स (बैंक,वित्त तथा सहकारी) तथा बिमातर्फ १ हजार ६ सय १२,  होलसेल तथा रिटेलतर्फ १ हजार ५ सय ३८, सेवा क्षेत्रका १ हजार ३ सय ६५, एड्मिनेसन, सपोर्ट  सर्भिस क्षेत्रमा १ हजार ३ सय ३० रोजगारदाता कोषमा सामेल भएका छन्। त्यस्तै स्वास्थ्य तथा सामाजिक क्षेत्रतर्फ ८ सय २०, सूचना प्रविधितर्फ ५ सय ६५, प्रोफेसन साइन्स एन्ड टेक्नोलोजीतर्फ ५ सय ४६, कृषि तथा वनतर्फ ४ सय ९०, निर्माणतर्फ ३ सय ७१, इलेक्ट्रीसिटी, ग्यास तथा एयर कन्डिसनतर्फ २ सय २९, यातायाततर्फ १ सय ९९, रियल स्टेट सम्बन्धित बिजनेसतर्फ १ सय ४७ रोजगारदाता कोषमा सामेल भएका हुन्।

केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाअनुसार मुलुकभर ९ लाख व्यावसायिक प्रतिष्ठान छन्। ती प्रतिष्ठानमा ३४ लाख श्रमिक छन्। एक हजारभन्दा बढीलाई रोजगारी दिनेको हजारभन्दा बढी छैन। एक जना मात्रै आबद्ध भएर कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता हुनेको संख्या अधिक छ। सरकारले माघ २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको दोस्रो संशोधन गरेको थियो। कार्यकारी निर्देशक ज्ञवालीले संशोधनपश्चात् सुरक्षा कार्यक्रम रोजगारदाता तथा श्रमिकहरूमा थप उत्सुकता बढेको बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.