काठमाडौं, भदाै १५ः सामाजिक सञ्जाल भाइबर मार्फत् नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई प्रहरीले पक्राउ गरेको छ । राजाले नाबालिकाको तस्वीर ईडिट गरी बनाएको अश्लिल भिडियो भाइबर मार्फत् पठाई डर त्रास देखाई नाजायज फाईदा लिन खोजेको र उद्देश्य पुरा नहुने भएपछि उक्त भिडियो सार्वजनिक गरीदिने भनि नाबालिकालाई मानसिक यातना तथा दु:ख हैरानी दिएको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी सामाजिक सञ्जाल ईन्सटाग्राम तथा बिगो मार्फत् महिलालाई ब्ल्याकमेल गरी मानसिक यातना तथा दु:ख हैरानी दिएको अभियोगमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ईन्सटाग्राम तथा बिगो मार्फत् ती महिलालाई विभिन्न प्रलोभन देखाई अश्लिलता प्रदर्शन गर्न बाध्य पारी सोको स्क्रिन सट लिई आर्थिक लाभका लागि सामाजिक सञ्जालमा प्रसारण गरीदेने भन्दै ब्ल्याकमेल, मानसिक यातना तथा दु:ख हैरानी दिने कार्यमा संलग्न जेम्सलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरू उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धुव्रेन्द्र बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र १८ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनसुन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । श्रेष्ठले एभरेष्ट बैंक लिमिटेड कलंकी शाखामा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ ।