सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आयोगको आग्रह

| 2023 Sep 17 | 03:36 pm 1697

काठमाडौँ, भदाै ३१ । केही समय यता सामाजिक संजालमा जिम्मेवार पद धारण गरेका व्यक्तिबाटै आएका धारणा र आरोप प्रत्यारोप प्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय मानव अधिकार आयोगले सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ।

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा साङ्घातिक आक्रमण भएको, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, चिकित्सकमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा जानकारी गराएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता घटनामा संलग्न आरोपितलाई कानुनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा भनिएको छ, “कसैले पनि नेपालको संविधान, कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनविपरीत हिंसात्मक गतिविधि नगर्न, घृणाजन्य अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर एक अर्काप्रति मानव अधिकारमैत्री भाषा र व्यवहार प्रयोग गर्न आयोगसम्बद्ध सबैलाई विशेष आग्रह गर्दछ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.