सामाजिक सञ्जालको गलत प्रयोगले बलात्कारका घटना बढ्याे

| 2021 Feb 01 | 09:08 am 3105

काठमाडौं, माघ १९ः देशमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको एक अध्ययनले देखाएको छ । पछिल्लो पाँच महिनामा देशभरबाट जबरजस्ती करणीसम्बन्धी प्रहरीमा १ हजार १ सय ७ उजुरी परेको तथ्यांकले देशमा बलात्कारको अवस्था भयाभय भएको देखाएको हो ।

पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोग हुँदा बलात्कारका घटना बढ्दै गएको नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

‘पहिले पहिले सामाजिक प्रतिष्ठाले गर्दा यस्ता उजुरी दिन डराउने गर्थे पछिल्लो समय जनचेतना बढेको हुँदा उजुरी दिने संख्या ह्वात्तै बढेको हुँदा पनि बलात्कारको घटना बढेजस्तो देखिएको हो।’ –कुँवरको भनाइ थियो । उनले घटनाको अनुपातभन्दा उजुरी दिनेको अनुपात बढेको बताए ।

देशभरको तथ्यांक हेर्दा बलात्कृत हुनेमा ११ देखि १६ वर्षसम्मका बालिका रहेको प्रवक्ता कुँवरले जानकारी दिए । उनका अनुसार साउनदेखि मंसिरसम्म मात्रै यस समूहका ४ सय २८ बालिका जबरजस्ती करणीको सिकार बनेका छन् ।

त्यस्तै प्रहरीमा उजुरी परेको तथ्यांक हेर्ने हो भने एक वर्षमा मात्रै प्रदेश १ मा २ सय ७७, प्रदेश २ मा १ सय ६९, प्रदेश ३ मा १ सय ३०, प्रदेश ४ मा ८९, प्रदेश ५ मा १ सय २४, प्रदेश ६ मा ६२, प्रदेश ७ मा १ सय ७ र उपत्यकामा मात्रै ८९ गरी देशभर १ हजार १ सय ७ जबरजस्ती करणीका उजुरी परेका छन्, जसमा १० वर्षभन्दा मुनिका बालिका १ सय ३४, ११ देखि १६ वर्षसम्मका बालिका ४ सय २८, १७ देखि १८ वर्षसम्मका बालिका १ सय ४४, १९ देखि २५ वर्षसम्मका महिला १ सय ८८, २६ देखि ३५ वर्षसम्मका महिला १ सय ३२, ३६ देखि ४५ वर्षसम्मका महिला ४२, ४६ देखि ५९ वर्षसम्मका महिला २४ र ६० वर्षभन्दा माथिका महिला १४ बलात्कृत भएको तथ्यांक नेपाल प्रहरीसँग रहेको छ ।

नेपाल प्रहरी पीडितमैत्री भएर अनुसन्धान गर्ने भन्दै प्रवक्ता कुँवरले पीडितलाई न्याय दिन आफूहरुको हरदम प्रयास हुने बताए । ‘पीडितलाई तत्काल राहत हुने गरी हामीले काम गरेका छौं।’ –उनको भनाइ थियो । यस्ता घटनाको सत्यतथ्य छानबिन गर्न पनि नेपाल प्रहरी निरन्तर लागेको र आगामी दिनमा पनि लाग्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल समाचारपत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.