जुम्ला, पुस १३: कर्णालीलगायत जुम्ला जिल्लामा समेत प्रमुख सामाजिक कुरीतिउन्मूलनका लागि छाउगोठ भत्काउने अभियान थालिने भएको छ । छाउगोठ भत्काउने, जनचेतना फैलाउने उद्देश्यले जिल्ला छाउपडीउन्मूलन समन्वय समिति गठन गरिएको हो ।
सामाजिक कुरीति र अन्धविश्वासको रूपमा रहेको छाउपडी प्रथा न्यूनीकरण गर्न छाउगोठ भत्काउने अभियान थालिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
उनका अनुसार आठ वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा जनचेनतामूलक कार्यक्रम गरिनेछ । छाउपडी र अन्य भेदभाव तथा अपमानजनक व्यवहारका विरूद्ध स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।
स्थानीय तहका जनप्रतिनिधि, धार्मिक अगुवा(धामी झाक्री, पुरोहित) तथा नागरिकसँग सहकार्य गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
यस्तै, छाउपडी प्रथालाई निरन्तरता दिनेमाथि क्रमशः राज्यबाट प्रवाह हुने सेवा सुविधा (वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, सहुलियत कर्जा) रोक्का गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने भएको छ ।
छाउगोठमा जान तथा सो कार्य गर्न बाध्य गर्ने जुनसुकै व्यक्तिलाई पनि यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन सहकार्य गर्ने समेत सबैलाई अपिल गरिएको बञ्जाडेले जानकारी दिइन् । राजधानी दैनिकबाट