साबुन उद्योग सञ्‍चालन

रिपोर्ट नेपाल | 2018 Nov 05 | 12:03 pm 2103

मुसिकोट, कार्तिक १९: रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्‍चालनमा आएको छ ।

स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो।

साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताए। पहिलो चरणमा करीब दुई हजार साबुन उत्पादन गरिएको छ। उत्पादित साबुन बिक्रीको तयारी भइरहेको छ।

प्रति गोटा मूल्य रु ५० कायम गरिएको सो साबुनको नाम ‘चिउरी हर्वल साबुन’ राखिएको छ। साबुन उत्पादनका लागि स्थानीयवासी प्रेमवीर कामी, जयमती कामी, वीरबहादुर कामी, नवीना कामी र रत्ने कामीले रु १५ लाख लगानी गरेका छन्।

उद्योगबाट उत्पादित साबुन जिल्लाको विभिन्न बजार तथा छिमेकी जिल्ला जाजरकोट, डोल्पा र सल्यान पठाउने योजना रहेको कम्पनीका निर्देशक प्रेमवीर कामीले बताए।

उद्योगबाट हाल नुहाउने साबुन मात्रै उत्पादन भइरहेको छ। आगामी दिनमा कपडा धुने साबुन उत्पादन गर्ने लक्ष्य छ।

साबुन उत्पादन गर्न चिउरीको बिजूला स्थानीयवासीले सङ्कलन गर्दछन् । उद्योग प्रवद्र्धन गर्न सहयोग गर्ने आठबीसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.