साफ यू-१६ च्याम्पियनसिपमा नेपालको पहिलो जित

| 2024 Mar 04 | 05:43 pm 1993

काठमाडौँ २१ फागुन । घरेलु मैदानमा जारी खेलमा साफ यू-१६ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै ३ अङ्क हासिल गरेको छ ।

बंगलादेशसँग पराजित भएको नेपालले एन्फा कम्पलेक्समा भएको खेलमा भुटानलाई ३-० ले हराउँदै अङ्क तालिकामा खाता खोलेको हो। नेपालका लागि पुजा गिरी, भुमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान १-१ गोल गरे। जितसँगै नेपालले ३ अङ्क प्राप्त गरेको छ। खेलमा समान ३-३ अङ्क भएपनि गोल अन्तरमा भारत पहिलो, बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।

तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दीका रुपमा रहेको भुटान विरुद्ध गिरीले गरेको फितलो प्रहार गोलरक्षक केल्जाङ वाङमोले रोक्न नसक्दा नेपालले अग्रता लिएको थियो। त्यसको ४ मिनेटपछि नै कप्तान भुमिका बुढाथोकीले नेपालको अग्रता दोब्बर पारेकी थिइन ।

२९ औ मिनेटमा नेपालले तेस्रो गोल थप्यो। ग्यान्सु डोल्मा लोले २५ यार्ड टाढाबाट गरेको फ्रिकिक सिधै गोल भयो। गोलरक्षक वाङमोको हातमा बल लागेपनि उनले क्लियर गर्न भने सकिनन्। ३८ औं मिनेटमा एक गोल फर्काउने अवसर भुटानले गुमायो। पेनाल्टी क्षेत्रभित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीला छिरिङ ल्हामोले गरेको प्रहार गोलरक्षक झरना डुम्राकोटीले बचाएकी थिइन।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल बंगलादेशसॅग २-० ले पराजित भएको थियो। भारतले भुटानलाई ७-० ले हराएको थियो । मंगलबार भारत र बंगलादेश खेल्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.