विराटनगर, फागुन २९ : साफ च्याम्पियनशीप महिला फुटबलको पाँचौ संस्करणमा भारतले शानदार जित निकालेकाे छ । आज बुधबार विराटनगरको शहीद रंगशालामा भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ६-० ले पराजित गरेको हाे ।
सातौं मिनेटमा ग्रेस दाङमेइको गोलमा भारतले अग्रता लिएको थियो । १२ औँ मिनेटमा सन्ध्या रंगनाथानले पेनाल्टी क्षेत्रभित्र बलमा उत्कृष्ट नियन्त्रण गर्दै प्रहार गरेको सट गोलमा परिणत भएको थियो । २२ औँ मिनेटमा इन्दुमति कासिरेतानले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अमिनाथ लिजाको हातमा लाग्दै गोलमा परिणत भयो ।
२७ औँ मिनेटमा सन्जु यादवले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै ४-० ले अगाडी बढाइन् । पहिलो हाफको इन्जुरी समयमा रतनबाला देवीले फ्रिकिकमा सिधै गोल गर्दै पाँच गोलको अग्रता दिलाइन् ।
दोस्रो हाफमा भारतले अाक्रमणलाई निरन्तरता दिएपनि गोल थप्न निकै कसरत गर्नुपर्यो । ८९ अौं मिनेटमा सन्जुले झन्डै २५ यार्ड टाढाबाट गोल गर्दै ६-० को जित पक्का गरिन्।
साविक विजेता भारतको समूहमा श्रीलंका र माल्दिभ्स रहेका छन् ।