आज नेपालले बंगलादेशसँग खेल्दै, सेमिफाइनल पुग्न यो खेल महत्वपूर्ण

| 2018 Sep 08 | 09:13 am 2360

ढाका, भदौ २३ : साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। नेपालका लागि सेमिफाइनल पुग्न यो खेल महत्वपूर्ण छ। बंगबन्धु स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि खेल शुरु हुनेछ ।

नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण छ ।

पाकिस्तान र भुटानबीचको खेल दिउँसो ३: ४५ बजे हुने भएकाले नेपालको लागि केही सहज हुनेछ। पहिलो खेलको नतिजापछि नेपालले सेमिफाइनल पुग्न कस्तो नतिजा निकाल्नुपर्छ भन्ने समिकरण बन्नेछ। त्यस खेलको नतिजा हेरेर कस्तो खेल्ने अनुमान गर्न सक्छ। यद्यपि, नेपालले बंगलादेशलाई पराजित गरेमा अन्तिम चारमा पुग्नेछ।

बंगलादेशले यसअघिको दुवै खेल जितेको छ। नेपालले भने एक जित र एक हारको नतिजा निकालेको छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई २-० र दोस्रो खेलमा पाकिस्तानलाई १-०ले पराजित गर्दै ६ अंक जोडिसकेको छ।

यता पहिलो खेलमा पाकिस्तानँग २-१ ले हारेको नेपालले दोस्रो खेलमा भने भुटानलाई ४-० ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

बंगलादेश जित वा बराबरीले पनि सेमिफाइनल पुग्नेछ। नेपालको हकमा भने अर्को खेलको नतिजा छाड्ने हो भने जित नै चाहिन्छ। अर्को खेल बराबरी भएर वा भुटान विजयी भए नेपाल बंगलादेश विरुद्ध बराबरीले पनि सेमिफाइनल पुग्न सक्छ।

यदि पाकिस्तानले भुटानलाई पराजित गर्ने र नेपालले पनि बंगलादेशलाई हराएमा तीनवटै टोलीको ६ अंक हुन्छ र यस्तोमा गोलअन्तर र हेड टु हेड निर्णायक हुनेछ।

भुटानले पाकिस्तानलाई ठूलो अन्तरमा पराजित गरेको खण्डमा नेपाल र बंगादेशसँग ठुलो अन्तरमा हारेमा भुटानको पनि अघिल्लो चरण सम्भावना रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.