साना हिमालतर्फ आकर्षित पर्वतारोही

रिपोर्ट नेपाल | 2019 Nov 03 | 07:40 am 1714

काठमाडौं, कात्तिक १७: पहिलोपटक आरोहण अनुमति माग्ने पर्वतारोही साना हिमालतर्फ आकर्षित हुन थालेका छन्। पर्यटन विभागका अनुसार पहिलोपटक आरोहण अनुमति माग्दै यो वर्षको शरद ऋतुका लागि ठूलो संख्यामा आरोही आएका छन्।

यो वर्षको शरद ऋतुमा ६ हजारदेखि आठ हजार मिटरमाथिका हिमाल आरोहण गर्न चाहने आरोहीको संख्या बिहीबारसम्म १ हजार १ सय १८ पुगेको छ। सरकारले पछिल्लो समय नयाँ हिमाल आरोहण प्रवर्धन गर्न थालेको छ।

विभागको तथ्यांकअनुसार ४५ वटा हिमालमध्ये १ सय ४८ टोलीमार्फत १ हजार १ सय आरोहीले यो वर्षको (सेम्टेम्बरदेखि नोभेम्बरसम्म) लागि अनुमति मागेका छन्। यो मौसमका लागि अनुमति माग्न आउनेको संख्या अझै एक दुई सातासम्म जारी रहने भएकाले आरोही अझै बढ्न सक्ने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।

विगतको तुलनामा यो वर्षको शरद ऋतुमा नयाँ हिमालतर्फ आकर्षण बढेको छ। अम्फू १ (६७४० मि), हाङ्कु चुली (६४३३ मि), हाङ्गु सरुपिक (६७६४ मि), लिङ्चु चुली (६६५९ मि), पान्पोचे १ (६६२० मि) र पान्पोचे २ (६०५०४ मि) सहित ६ वटा नयाँ हिमाल आरोहण गर्न अनुमति माग्दै आरोही आएका छन्। नयाँ हिमालको अनुमति माग्ने टोलीमा पान्पोचे १ मा दुईवटा टोलीका आठ सदस्य छन्। बाँकी पाँचैवटा हिमालमा एक÷एक टोलीका एकदेखि पाँच जनासम्म सदस्य रहेको विभागको तथ्यांक छ।

सरकारले खुला गरेका ४ सय १४ हिमालमध्ये ८६ वटा एकपटक पनि आरोहण भएका छैनन्। यो वर्ष नयाँ ६ वटा हिमालका लागि आरोहण अनुमति मागिएको छ। सबै ६ वटैमा सफल आरोहण भए नचढिएको हिमालको संख्या यो वर्ष एकैपटक ६ वटा घटेर ८० वटा कायम हुने उल्लेख छ। सरकारले नयाँ हिमाललाई प्रवर्धन गरिरहेको तथा ६ हजार पाँच सय मिटरसम्मका हिमाल ट्रेकिङ परमिटका हिमाल मानेको छ। ६५ सय मिटरसम्मका हिमालमा ट्रेकिङ परमिट अनिवार्य भएकाले सो उचाइका हिमालमा आउने आरोही वास्तविक आरोही मात्रै भएको पाइएको छ। अन्नपूर्ण पोष्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.